उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी हुने संकेत देखिएको छ।
पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकमा राष्ट्रिय एकताको सन्देश दिन पनि आफ्नो पार्टी बाम गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुन तयार भएको बताए। ‘हामी सरकारमा सहभागी हुनको लागि खुल्ला छौं, तर, हाम्रा माग र मुद्दाबारे सरकारको प्रतिबद्धता जाहेर हुनुपर्छ, राष्ट्रिय एकता कायम होस् भन्ने हाम्रो चाहना हो,’ उनले अहिले राष्ट्रिय एकताको मुल आधार नै संघीयता भएकोले सबैलाई समेट्नेगरि अघि बढ्नुपर्ने बताए ।
आईतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय सहमतिका लागि आफूहरुलाई केन्द्रीय सरकारमा सहभागी गराए बामगठबन्धनलाई पनि प्रदेश नम्बर २ को सरकारमा समेटने योजना रहेको खुलासा गरे।
श्रेष्ठले एमाले र माओवादी केन्द्रवीचको एकता सफल होस् भन्ने आफूहरूको चाहना रहेको सुनाए । उनले भने, ‘उहाँहरुबीच एकता होस्, हामीसँग पनि सहकार्य होस्, तर माओवादी केन्द्रसँग एकता भएन भने एमालेसँग एक्लै सरकार बनाउने म्याण्डेट छैन, त्यसैले छिटोभन्दा छिटो एकता होस् र हामीसँग वार्ता गरोस् भन्ने चाहना हो।’
ठूलो पार्टी भएको नाताले एमालेले माओवादीसँग सन्तुलित भएर एकता कायम गर्नुपर्ने उनको सुझाव थियो । उनले भने,‘अब एकता हुन सकेन भने हामीसँग त राम राम भन्नेबाहेक अर्को विकल्प छैन।’
श्रेष्ठले एमालेले पनि हिजोको आँखाले आफूहरुलाई नहेर्ने विश्वास दिलाए । उनले एमाले ठूलो पार्टी भएकोले प्रतिपक्षमा बस्ने अवस्था नआओस् भन्दै सचेत गराएका थिए ।
केन्द्रमा बाम गठबन्धन र प्रदेश २ मा आफूहरुलाई जनताले सरकार चलाउन म्यान्डेट दिएको सहअध्यक्ष श्रेष्ठको भनाई छ । सहअध्यक्ष श्रेष्ठले मुलुकलाई एकतावद्ध बनाएर लैजान बाम गठबन्धन नेतृत्वको सरकार तयार हुनुपर्ने पनि उल्लेख गरे।