राष्ट्रिय सभा सदस्यका लागि शेरबहादुर देउवाको सरकारले राष्ट्रपतिसमक्ष सिफारिश गरेका तीन जनाको नाम ओली सरकारले फिर्ता गरेको छ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देउवा सरकारले सिफारिश गरेका कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम फिर्ता लिने निर्णय गरेको हो।
‘अघिल्लो सरकारले गरेका सिफारिश राष्ट्रपतिज्यूले अध्ययन गरिरहेका बेला नयाँ सरकारले नाम फिर्ता लिने निर्णय पठाएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो।
केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्यका लागि नयाँ नाम भने सिफारिश नगरेको स्रोतले बतायो।
राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ जना चुनावबाट निर्वाचित हुन्छन् भने ३ जना मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ।