नेकपा एमाले र माओवादी केन्द्रले आज साँझ दुई पार्टीको एकतामा हस्ताक्षर गर्ने तयारी गरेका छन्।
शनिबार र आइतबार एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएका छलफलले एकताका मुद्दामा सहमति जुटाएपछि आज साँझ हस्ताक्षर गर्ने तयारी गरिएको हो।
दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको बैठक साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ। सोही बैठकपछि सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ।
सहमति पत्रमा आज दुई पार्टीले हस्ताक्षर गर्न लागेका हुन्? भन्ने
सेतोपाटीको प्रश्नमा माओवादी नेता नारायणकाजी श्रेष्ठले सबै विषयमा सहमति जुटिसकेकाले आजै हस्ताक्षर हुने बलियो सम्भावना रहेको बताए। सोही प्रश्नमा एमाले नेता प्रदीप ज्ञवालीले पनि भने, ‘आज हस्ताक्षर हुने सम्भावना छ।’
फागुन २ गते एकता सहमति पत्रमा हस्ताक्षर गर्ने भनिए पनि अन्तिम समयमा आएर अड्किएको थियो।
एकीकृत पार्टीको वैचारिक लाइन जनताको बहुदलीय जनवाद हुनु पर्ने एमाले नेताहरूले अडान राखेपछि एकता प्रक्रिया केही दिन लम्बिएको थियो।
एक माओवादी नेताका अनुसार आज साँझ हस्ताक्षर हुने एकता सहमति पत्रमा जनताको बहुदलीय जनवाद र माओवाद दुबैलाई छलफल गर्दै महाधिवेशनमा लगेर टुंग्याइने उल्लेख गर्ने सहमति भएको छ।
एक एमाले नेताका अनुसार जनताको बहुदलीय जनवादका आधारभूत कुराहरु सहमति पत्रमा पर्नेछन्।
‘ती आधारभूत कुराहरुलाई माओवादीले पनि मानिसकेको सहमति पत्रमा उल्लेख गर्दै दुबै पार्टीका वैचारिक लाइन जबज र माओवादलाई छलफलमा लगेर महाधिवेशनमा टुंग्याउने सहमति बनेको छ,’ उनले भने।
ओली र प्रचण्ड महाधिवेशनसम्म सहअध्यक्ष रहने द्वीअध्यक्षात्मक प्रणाली एकीकृत पार्टीले अवलम्बन गर्ने, दुबै नेताहरूले प्रधानमन्त्रीमा आलोपालो गर्ने, दुबै पार्टीको प्रतिनिधित्व हुने गरी एउटै स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समिति बनाउने पनि सहमति पत्र उल्लेख गरिने ती नेताले बताए।