नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
बैठकमा दुबै दलका अध्यक्षसहित शीर्ष नेताहरू सहभागी छन्।
पार्टी एकताका विषयमा एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच भएको सहमतिलाई अनुमोदन गर्नेछ। आजै दुई पार्टीको एकता सहमति पत्रमा हस्ताक्षर हुने नेताहरूले बताएका छन्।
फागुन २ गते एकता सहमति पत्रमा हस्ताक्षर गर्ने भनिए पनि अन्तिम समयमा आएर अड्किएको थियो।
एकीकृत पार्टीको वैचारिक लाइन जनताको बहुदलीय जनवाद हुनु पर्ने एमाले नेताहरूले अडान राखेपछि एकता प्रक्रिया केही दिन लम्बिएको थियो।
एक माओवादी नेताका अनुसार आज हस्ताक्षर हुने एकता सहमति पत्रमा जनताको बहुदलीय जनवाद र माओवाद दुबैलाई छलफल गर्दै महाधिवेशनमा लगेर टुंग्याइने उल्लेख गर्ने सहमति भएको छ।
एक एमाले नेताका अनुसार जनताको बहुदलीय जनवादका आधारभूत कुराहरु सहमति पत्रमा पर्नेछन्।
‘ती आधारभूत कुराहरुलाई माओवादीले पनि मानिसकेको सहमति पत्रमा उल्लेख गर्दै दुबै पार्टीका वैचारिक लाइन जबज र माओवादलाई छलफलमा लगेर महाधिवेशनमा टुंग्याउने सहमति बनेको छ,’ उनले भने।
ओली र प्रचण्ड महाधिवेशनसम्म सहअध्यक्ष रहने द्वीअध्यक्षात्मक प्रणाली एकीकृत पार्टीले अवलम्बन गर्ने, दुबै नेताहरूले प्रधानमन्त्रीमा आलोपालो गर्ने, दुबै पार्टीको प्रतिनिधित्व हुने गरी एउटै स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समिति बनाउने पनि सहमति पत्र उल्लेख गरिने ती नेताले बताए।