नेकपा एमाले र माओवादी केन्द्रबीच मंगलबार राति भएको सातबुँदे सहमतिपत्रमा पार्टी नेतृत्व र सरकारमा सहभागिताबारे केही उल्लेख नभए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले 'दुवै संयुक्त अध्यक्ष रहने' बताएका छन्।
बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका दाहाललाई संवाददाताहरुले 'एकीकृत पार्टीको नेतृत्वबारे के सहमति भयो' भनी सोधेका थिए।
जवाफमा दाहालले भने, 'दुवै अध्यक्षकै रुपमा रहने छन्, यो कुरा प्रस्टै छ।'
पार्टीको अागामी बैठकदेखि नै 'आलोपालो अध्यक्षता गर्ने' सहमति भएको उनले जानकारी दिए। यसबारे सहमतिपत्र भने मौन छ।
त्यसपछि संवाददाताहरुले सोधे, 'सरकार पनि आलोपालो हो?'
यो प्रश्नमा दाहाल सुरुमा केही बोलेनन्। हाँसे मात्र।
त्यसपछि भने, 'अब एउटै पार्टी भइसक्यो, सरकारमा सहभागिताको कुरा पनि भइहाल्छ।'
एकता संयोजन समिति बैठकमा भएको सातबुँदे सहमतिपत्रमा पार्टी नेतृत्व, सरकारमा सहभागिता, राष्ट्रपति, सभामुख लगायत पद बाँडफाँटका विषय उल्लेख छैन। महाधिवेशनको मिति पनि तोकिएको छैन। महाधिवेशन नभएसम्म संगठन र नेतृत्वका विषयमा पनि सहमतिपत्र मौन छ।