सरकारले राष्ट्रियसभा सदस्यका लागि पूर्ववर्ती सरकारले गरेको सिफारिस उल्ट्याउँदै तीन जनाको नयाँ नाम सिफारिस गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौड्याललाई सिफारिस गरेको हो।
यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यका लागि ३ जनाको नाम राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन जनाको नाम अनुमोदनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको थियो। तर दलीय सहमति नगरेरै सरकारले एकल रुपमा नाम सिफारिस गरेको भन्दै शीतलनिवासले ती नामलाई अनुमोदन गरेको छैन ।
देउवा सरकारले झापाका गोपाल बस्नेत, महिला अधिकारकर्मी चाँदनी जोशी र कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।
५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिएका थिए भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ।
हरेक प्रदेशबाट ८-८ जनाको दरले ५६ जना निर्वाचित भइसकेका छन्। तर ३ जना भने अझै नियुक्त भएको थिएन।