प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्ववर्ती कांग्रेस सरकार र वाम गठबन्धनको नयाँ सरकारलाई फरक व्यवहार गरेको आरोप लगाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति भण्डारीले देउवा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिश गरेकाको नाम अनुमोदन नगर्नु असंवैधानिक कदम भएको बताए।
'राष्ट्रपतिले अघिल्लो सरकारलाई एउटा चश्मा र नयाँ सरकारलाई अर्कै चश्माले हेर्नुभयो,' प्रवक्ता शर्माले भने, 'देउवा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिश गरेका तीन जनाको नाम रोकेर उहाँले असवैंधानिक काम गर्नुभयो।'
नयाँ सरकारले अघिल्लो सरकारको सिफारिश फिर्ता लिएकोमा पनि कांग्रेसको आपत्ति रहेको शर्माले बताए।
प्रवक्ता शर्माले नयाँ सरकारको रवैया हेरेर संसदमा कसरी प्रस्तुत हुने भन्ने निर्णय गरिने पत्रकार सम्मेलनमा जानकारी दिए।