प्रदेश नम्बर सातका मुख्यमन्त्री त्रिलोचन भट्ट निजी घर भाडामा लिएर बस्ने भएका छन्।
अस्थायी मुकाम तोकिएको धनगढी र नजिकैको अर्को सहर अत्तरियामा मुख्यमन्त्रीको आवासका लागि उपयुक्त सरकारी भवन नभएपछि निजी घर भाडामा लिने निर्णय भएको प्रमुखसचिव लक्ष्मीराम पौडेलले जानकारी दिए।
मुख्यमन्त्रीको आवास र कार्यालय एउटै भवनमा राख्ने कुरा थियो। मुख्यमन्त्री भट्टले कार्यालय र आवास एउटै घरमा व्यवहारिक नहुने र धनगढीभन्दा अत्तरिया बस्न उपयुक्त हुने बताएपछि अत्तरियामा घर खोजिएको थियो।
अब मुख्यमन्त्री भट्ट धनगढी उपमहानगरपालिका-४ मा रहेको निजी घरमा बस्नेछन्। घरभाडा लगायत विषयमा थप कुरा टुंगो लाग्न बाँकी रहेको पौडेलले बताए।