नवनियुक्त महान्यायाधीवक्ता अग्नि खरेलले नेकपा एमालेको पोलिटब्यूरो सदस्यबाट राजीनामा दिएका छन्।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटर खरेलले राजीनामा बुझाएका हुन्।
‘महान्यायधीवक्ताको गरिमा विचार गरेर राजीनामा दिएको हुँ’, खरेलले सेतोपाटीसँग भने, ‘त्यहाँ बसेर फ्री र फेयर भएर काम गर्न मैले पार्टीको सदस्यबाट राजीनामा गर्नु उचित सम्झिएँ।'
प्रधानमन्त्री केपी शर्मा ओलीले खरेललाई मंगलबार महान्यायधीवक्तामा सिफारिस गरेका थिए। लगत्तै उनलाई राष्ट्रपतिले नियुक्त गरेकी थिइन्।
पूर्वकानुनमन्त्री खरेललाई प्रधानमन्त्री ओलीले महान्यायाधीवक्ता बनाएका हुन्। उनी पहिलो संविधानसभामा समानुपातिकतर्फबाट र दोश्रो संविधानसभामा एमाले कोटाबाट मनोनित सांसद बनेका थिए।
महान्याधीवक्ता खरेलले आजै पद तथा गोपनियताको सपथ लिँदै छन्।