नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि आवश्यक अन्तरिम विधान र सांगठनिक विषयमा तयारी गर्न गठित कार्यदलको बैठक अहिले बालुवाटारमा बसिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार कार्यदलले अन्तरिम विधान र संगठनका विषयमा आन्तरिक गृहकार्य गरिसकेको छ। कार्यदलले संयुक्त बैठकपछि शीर्ष नेताहरूलाई ब्रिफिङ गर्नेछन्।
एमाले र माओवादी केन्द्रले नयाँ पार्टीको संगठन र अन्तरिम विधान बनाउन फागुन ७ गते दुई कार्यदल बनाएका थिए।
संगठन निर्माणसम्बन्धी कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, बेदुराम भुषाल र रघुविर महासेठ सदस्य छन् भने माओवादीबाट रामबहादुर थापा ‘बादल’, गिरिराजमणि पोखरेल, वर्षमान पुन, मातृका यादव र जनार्दन शर्मा सदस्य छन्।
त्यस्तै पार्टीको अन्तरिम विधान बनाउन अर्को कार्यदल बनेको छ। सो कार्यदलमा एमालेबाट माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त सदस्य छन्। माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल र देवेन्द्र पौडेल सदस्य छन्।