नेकपा एमाले र माओवादी केन्द्रले संघीय सरकारमा १८ मन्त्रालय बनाउने समझदारी गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको दुई दलका नेताहरुको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुझावअनुसार १८ मन्त्रालय राख्ने समझदारी बनेको बैठकमा सहभागी माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिए।
अहिले रहेका ३१ मन्त्रालयमध्ये कुन केमा गाभ्ने निक्र्यौल प्रधानमन्त्री कार्यालयले गर्ने र त्यसपछि मन्त्रिमण्डल विस्तार गर्ने पनि समझदारी भएको पौडेलले जानकारी दिए।
बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक्लाएक्लै बैठक गरेका छन्।
पौडेलका अनुसार भोलि बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या पारित गर्नेछ। मन्त्रालय टुंगो भएपछि मन्त्रिमण्डल विस्तार गर्ने समझदारी पनि भएको छ।
यसअघि सामान्य प्रशासन मन्त्रालयले केन्द्रमा १५ मन्त्रालय सिफारिश गरेको थियो।
संविधानले संघीय सरकारमा २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाउने व्यवस्था गरेको छ।