प्रदेश नं. ६ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले विभिन्न तीनवटा कार्यदल बनाएको छ । मन्त्रालयले कार्यभार सम्पादन गर्ने क्रममा सुरक्षा, प्रविधि तथा कानूनसंग सम्बन्धित तीनवटा कार्यदल बनाएको हो ।
मन्त्रालयले बनाएका कार्यदलहरुमा ‘सम्मृद्धिका लागि शान्ति सुरक्षा’, ‘डिजिटल प्रदेश निर्माण’ तथा कानून मस्यौदासम्बन्धी रहेका छन् । प्रदेश नं. ६ प्रहरी कार्यालयको नेतृत्व रहनेगरि सुरक्षासम्बन्धी कार्यदल बनाइएको छ । यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालयको नेतृत्व रहने गरि प्रविधि र कानूनसम्बन्धी कार्यदल बनाइएको छ ।
यसैगरी, प्रदेश नं. ६ मा समृद्धिका लागि सुरक्षा अभियान सञ्चलन गर्ने मन्त्रालयले निर्णय गरेको छ ।
अभियानअन्तर्गत प्रथम चरणमा न्यूनतम आवश्यक प्रहरी जनशक्तिको व्यवस्था गरिने जनाइएको छ । जसमा प्रत्येक गाउँपालिकामा १ जना प्रहरी निरीक्षकको नेतृत्वमा १२५ जना प्रहरी खटाइने जनाइएको छ । यसरी प्रदेश नं. ५४ गाउँपालिकामा गरि ६ हजार ७५० जना प्रहरी परिचालन हुनेछन् । यस्तै, यस प्रदेशका २५ वटा नगरपालिकामा सिनियर प्रहरी अधिकृतको नेतृत्वमा १२५ जनाका दरले प्रहरी जनशक्तिको व्यवस्था गरिने छ । हाल प्रदेशमा ५०९० प्रहरी जनशक्ति कार्यरत रहेको छ । शान्ति शुरक्षालाई मध्यनजर गर्दै यो अभियानअन्तर्गत अब थप ५ हजार ४०० जनशक्ति थप गर्दै लैजाने प्रदेश नं. ६ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले बताए ।
अभियानअन्तर्गत प्रहरी कारबाहीलाई दुरुस्त बनाउने प्रदेश स्तरमा प्रहरीसंग सम्बन्धित विभिन्न थप कार्यहरु गरिने उनले जानकारी दिए । यस्तै, प्रदेशको अस्थायी राजधानी सुर्खेतमा अत्याधुनिक प्रविधियुक्त कन्ट्रोल रुमको स्थापना गरिने जनाइएको छ । प्रदेशका दशवटै जिल्लाहरुका सदरमुकाम तथा महत्वपूर्ण स्थानहरुमा सिसी क्यामराको जडान गरेर उक्त कन्ट्रोल रुमबाट नै अनुगमन गर्ने व्यवस्था मिलाइने प्रमुख शाहले बताए ।
यस्तै, अभियानअन्तर्गत प्रदेशका सबै जिल्लाका प्रहरी ईकाइहरुलाई सिधा सम्पर्कमा राख्ने व्यवस्था मिलाईने, प्रहरीलाई भौगोलिक विकटताका आधारमा रासनको व्यवस्था गरिने, प्रदेश सरकारमा रहेका विशिष्ट व्यक्तिहरुको आवागमन, निवास, कार्यालय, समारोहलगायतका स्थानको सुरक्षाका लागि आवश्यक प्रविधिको प्रयोग गरिने छ ।
अभियानअन्तर्गत मादक पदार्थ सेवन चेकजाँच कार्यलाई अझै बढी कडाईका साथ लागू गरिने अतिरिक्त प्रहरी महानिरीक्षक शाहले बताए । उनका अनुसार सुरक्षा निकायहरुलाई समन्वयात्मक रुपमा प्रभावकारी ढंगले परिचालन गरिने छ ।
समृद्धिको एउटा आधार सुरक्षाः मन्त्री भण्डारीप्रदेश ६ का आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सुरक्षाको प्रत्याभुति समृद्धिको एक आधार भएको बताएका छन् । बिहिबार मन्त्रालयमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले जहाँ शान्ति सुरक्षा हुँदैन त्यहाँ समृद्धि असम्भव भएको बताएका हुन् ।
समृद्धिसंग सुरक्षा अनिवार्य जोडिएको बताउँदै उनले सुरक्षा प्रबन्ध उचित खालले मिलाउन सुरक्षा निकायसंगै सरोकारवालाहरुबीच समन्वय हुनुपर्नेमा समेत जोड् दिए । उनले बद्लिँदो समयलाई मध्यनजर गर्दै सुरक्षासंग पनि प्रविधिलाई जोड्नुपर्नेमा जोड् दिएका छन् ।
प्रदेश नं. ६ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको भवन