प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि ६७ वर्ष लागेका छन्। एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको जन्मदिन परेकाले बालुवाटारमा बसेको पार्टी स्थायी समिति बैठक केक काटेर सुरू भएको छ।
ओलीको जन्मदिनमा बालुवाटारमा दुइटा 'बर्थडे केक' काटिएका थिए।
पहिलो केक स्थायी समितिले ल्याएको थियो। केक काट्नु पहिले सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओली ६६ वर्ष पूरा गरेर ६७ मा लागेकोमा शुभकामना दिए। पार्टी केन्द्रीय कार्यालयका तर्फबाट कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्रीलाई केक खुवाएका थिए।
अर्को केक मदन भण्डारी स्पोर्ट फाउन्डेसनले ल्याएको थियो। सो केक पनि प्रधानमन्त्री ओलीले काटेका थिए। प्रधानमन्त्री पत्नी राधिका शाक्यले सो केक पहिला प्रधानमन्त्रीलाई खुवाएकी थिइन्।
प्रधानमन्त्रीको जन्मदिनको केक काटेर बसेको एमाले स्थायी समिति बैठक अहिले जारी छ।
बैठकले एमालेबाट सरकारमा जाने थप मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ।
यसैबीच भारतीय राजदूत मन्जीवसिंह पुरीले आजै प्रधानमन्त्री ओलीलाई भेटेर जन्मदिनको शुभकामना दिएका छन्।