नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मा प्रधानमन्त्रीलाई दिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।
बैठकले मधेसवादी दुई दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई पनि सरकारमा ल्याउन छलफल गर्ने निर्णय गरेको छ।
'फागुन ७ गते माओवादीसँग एकता गर्न भएको सात बुँदे सहमतिलाई पनि बैठकले अनुमोदन गरेको छ,' भट्टराईले भने, 'त्यही अनुरूप पार्टीका भातृ र जनवर्गीय संगठनका सबै अधिवेशन हाललाई रोक्ने निर्णय पनि भएको छ।'
एमालेले संगठन विस्तार, भेला र सदस्यता वितरणलाई भने जारी राख्ने जनाएको छ।