मन्त्रालयको भागबन्डा टुंग्याउन नेकपा एमाले र माओवादी केन्द्रबीच आज छलफल हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच साँझ हुने भेटमा मन्त्रालयको भागबन्डा टुंगिने बालुवाटार स्रोतले जानकारी दियो।
‘बाहिर आएजस्तो दुई पार्टीबीच मन्त्रालय भागबन्डा टुंगिएको थिएन, भागबन्डा टुंग्याउन दुई अध्यक्षबीच साँझ कुरा हुन्छ,’ स्रोतले भन्यो।
मन्त्रालयको भागबन्डा नटुंगिएकाले आज मन्त्रिमण्डल विस्तार हुने सम्भावना कम छ।
सरकारले प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय बनाउने निर्णय गरेको छ। तीमध्ये एमालेले १० र माओवादीले ७ मन्त्रालय पाउने मोटामोटी समझदारी भए पनि भागबन्डाको अन्तिम टुंगो नलागेको दुबै दलका नेताहरुले बताएका छन्।
मन्त्रालयको संख्यामात्र होइन कुन पार्टीले कुन/कुन मन्त्रालय पाउने भन्ने पनि टुंगिन बाँकी रहेको एक माओवादी नेताले सेतोपाटीलाई बताए।
उनका अनुसार १० र ७ मन्त्रालयमध्ये महत्वपूर्ण मन्त्रालयको भागबन्डा टुंगिन बाँकी छ।
संघीय समाजवादी फोरम र सूर्य चिह्नमा चुनाव लडेका हृदयश त्रिपाठीलाई पनि सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारीले पनि पार्टी एकताको सहमति गरिसकेका दुई दलको मन्त्रालय भागबन्डा नटुंगिएको हो।
संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्रीले पहल गरिरहेका छन्। शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले फोरमलाई पनि सरकारमा ल्याउन पहल गर्ने निर्णय गरेको थियो।
एमालेले फोरम सरकारमा आए १ मन्त्रालय दिने प्रस्ताव गरेको छ।
फोरमले आफूले पाउने मन्त्रालयभन्दा पहिला एमालेसँग संविधान संशोधनको प्रतिवद्धता मागेको छ।
माओवादी केन्द्रले भने फोरम अध्यक्ष उपेन्द्र यादव र हृदयश त्रिपाठीलाई एमालेको भागबाट मन्त्रालय दिनुपर्ने बताउँदै आएको छ।
‘त्यसो गर्दा एमालेका ८ मात्र र माओवादीका ७ मन्त्री हुन्छन्, यो अलि मिल्दैन भन्ने हाम्रो कुरा छ,’ एक एमाले नेताले भने।
माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए।
सोही दिन दुई जना मन्त्री बनाएका ओलीले १० दिन बितिसक्दा पनि मन्त्रिमण्डल बिस्तार गर्न सकेका छैनन्।
प्रधानमन्त्री ओलीको सचिवालयले सोमबारसम्म मन्त्रिमण्डल विस्तार हुने जनाएको छ।