प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। एमाले र माओवादीका ४ जना मन्त्रीले केहीबेरमा सपथ लिँदै छन्।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेल रक्षामन्त्री हुने भएका छन्। यसअघि उनले अर्थ मन्त्रालयमा दाबी गर्दै आएका थिए। आइतबार साँझ उनी परराष्ट्र मन्त्री बन्ने लगभग टुंगो भएको थियो।
सोमबार बिहान संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि सरकारमा सहभागी हुन सहमत भएपछि परराष्ट्र मन्त्रालय यादवको भागमा परेको छ। यादव परराष्ट्र मन्त्री हुने भएपछि पोखरेल रक्षा मन्त्री बन्न लागेका हुन्।
पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडा अर्थमन्त्री बनेका छन्। एमाले र माओवादीबीच मन्त्रालय भागबन्डा हुँदा एमालेको भागमा अर्थ मन्त्रालय परेको थियो। महासचिव पोखरेल र सचिव प्रदीप ज्ञवाली पनि अर्थ मन्त्रालयमा दाबी गरेका थिए।
अन्तिम समयमा प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
प्रधानमन्त्री भए लगत्तै ओलीले युवराज खतिवडालाई राष्ट्रिय सभामा मनोनयन गरेका थिए। यद्यपी सर्वोच्चले उनको सपथ भने अन्तरिम आदेश मार्फत रोकेको छ। संविधान अनुसार खतिवडाले अब आउँदो ६ महिना भित्र संघीय संसदको सदस्य बनिसक्नुपर्नेछ।
पोखरेल र खतिवडासँगै माओवादी केन्द्रका रामबहादुर थापा 'बादल'ले गृहमन्त्री र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको रूपमा सपथ लिदैँछन्।