प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गरेका छन्।
सोमबार अपरान्ह एमालेका २ र माओवादी केन्द्रका २ मन्त्रीले सपथ लिएका छन्।
एमालेबाट महासचिव ईश्वर पोखरेल रक्षामन्त्री बनेका छन् भने युवराज खतिवडा अर्थमन्त्री बनेका छन्। माओवादीले रामबहादुर थापालाई गृहमन्त्री बनाएको छ भने अर्का नेता मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्।
नवनियुक्त चारै जना मन्त्रीलाई प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्।
आजको विस्तारसँगै अब ओली सरकार ७ सदस्यीय भएको छ।
संघीय समाजवादी फोरमसहित भोलि मन्त्री थपिने सम्भावना छ।
एमाले महासचिव पोखरेललाई प्रधानमन्त्री ओलीपछिको दोस्रो वरियतामा रहने गरी रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो। सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, विभिन्न राजनीतिक दलका नेताहरु, मन्त्रीहरू, संवैधानिक अंगका प्रमुखहरू, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।