टीकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका तथा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। चौधरीले सोमबार बिहानै अदालतमा आत्मसमर्पण गरेका थिए।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीलाई थुनामा राख्न आदेश दिएको हो। उनलाई जिल्ला कारागार कैलाली चलान गरिएको छ। अदालतले अर्को पेसी यही फागुन १६ गते तोकेको छ।
दिनभर चलेको बहसमा वादी तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारी, सहायक जिल्ला न्यायधिवक्ताद्वय भानदेव जोशी, नवीन भट्ट र वरिष्ठ अधिवक्ता राजेन्द्र साउदले बहस गरेका थिए। प्रतिवादी पक्षबाट बहस गर्नेमा वरिष्ठ अधिवक्ता मिलन राई, गंगाराम उपाध्याय, गजेन्द्रबहादुर केसी र नाथुराम महतो थिए।
टीकापुर घटना गराएको अभियोगमा उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा दायर गरिएको छ। चौधरीले सोमबार बिहान ११ बजेर १५ मिनेटमा अधिवक्ता गजेन्द्रबहादुर केसीको मोटरसाइकलमा आएर अदालतमा आत्मसमर्पण गरेका थिए।
अदालतको आदेशपछि चौधरीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अदालतको फैसला पूर्वाग्राही भए पनि सम्मान गर्ने र अन्त्यमा आफूले न्याय पाउने विश्वास व्यक्त गरे ।
२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो। त्यही घटनामा चौधरीलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखेर खोजतलास गर्दै आएको थियो। टीकापुर घटनापछि चौधरी भारतको विभिन्न स्थानमा बस्दै आएका थिए।
उनले वारेसमार्फत प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिएका थिए। निर्वाचनमा चौधरी १९ हजार मतान्तरले विजयी भएका थिए।
निर्वाचनमा विजयी भए पनि चौधरीले प्रमाणपत्र पाएका थिएनन्। उनले वारेसमार्फत् प्रमाणपत्र पाउन अदालत गुहारेका थिए। चौधरीलाई अदालतले निर्दोष भए अदालतमा आउन भनेको थियो। चौधरीको बयानपछि अदालतले पुपर्क्षका लागि थुनामा राख्ने आदेश गरेको हो।