सोमबार पदभार ग्रहण गरेका नवनियुक्त गृहमन्त्री रामबहादुर थापा बादलले ब्यवसायीक तवरले अघि बढ्न प्रहरी तथा गृह मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन्।
पदभार ग्रहणपछि मन्त्रालयमा प्रहरी र गृहका अधिकारीलाई ब्रिफिङ गर्दै मन्त्री थापाले भने, ‘कुरा धरै भए, अब कुरा होइन काम गर्ने हो, त्यसको नेतृत्व मैले गरेको छु, गुटगत रूपमा नलागेर मलाई सहयोग गर्नुहोस् नेपाल प्रहरीलाई संसारकै नमुना बनाउनेछु।’
मुलुकमा शान्ति र सुसाशन कायम गर्ने हामी सबैको दायित्व भएको भन्दै मन्त्री थापाले हामीले त्यसो गर्न सके देशमै रोजगारी सिर्जना हुने र देशको विकास हुने दाबी गरे। ‘परिवारका सदस्य जस्तै भएर मिलेर काम गरौं, देशका ठूलठूला आमुल परिर्वतन भएका छन्। तिनीहरुलाई संस्थागत विकास गर्न शान्ति सुशासन र अमनचयको खाँचो पर्छ त्यो कुरा हामीले जिम्मेवार भनेर विचार गर्नुपर्छ,’ भन्दै मन्त्री थापाले गरेको ब्रिफिङबारे सहभागी एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने।
प्रहरी संगठनमा सुधार गर्नुपर्ने धेरै काम रहेको भन्दै मन्त्री थापाले आफू त्यसमा गम्भीर भएर लाग्ने बाचा गरे। ‘प्रहरी संगठनमा सुधार गर्नुपर्ने धेरै कुराहरू छन् त्यसमा म गम्भीर भएर लाग्नेछु,’ उनले भने, ‘तपाईँका समस्याको समाधान गर्न त्यही आउँला।’ उनले प्रहरीलाई ब्यवसायीक बनेर काम गर्न निर्देशनसमेत दिए।
यसअघि मन्त्रालयमा सोमबार पदबहालीपछि मातहतका कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिँदै उनले निर्वाचनपछिको राजनीतिक स्थायित्वले मुलुक र जनताको हितमा काम गर्ने ऐतिहासिक अवसर आएको भन्दै यसलाई अवसरका रुपमा लिनुपर्ने बताएका थिए। जनअपेक्षानुसार काम गर्न आफ्नो क्षमताले भ्याएसम्म काम गरिने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री थापाले यसमा आइपर्ने चुनौतीको सामना गर्न सबैको सहयोगको अपेक्षा गरेका थिए।
मन्त्रालयमा यसअघिका राम्रा कामलाई निरन्तरता दिइने र सकारात्मक कामको अनुसरण गरिने बताउँदै उनले कर्मचारी र सुरक्षाकर्मीको वृत्तिविकासमा देखिएका समस्या समाधानका लागि पनि आवश्यक पहल गरिने प्रतिबद्धता पनि व्यक्त गरे।
मन्त्री थापालाई गृहसचिव, तीनै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका उच्च पदाधिकारी र उच्च सुरक्षा अधिकारीले स्वागत गरेका थिए।
को हुन् थापा