प्रधानमन्त्री, मन्त्रीको कार्यभार सम्हालेलगत्तै एउटा निर्णयमा हस्ताक्षर गर्ने चलन छ। सोमबार केपी शर्मा ओली सरकारमा थपिएका ४ मध्ये तीन मन्त्रीले पनि पदभार ग्रहण गर्दै एक/एक निर्णयमा हस्ताक्षर गरे। तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको पदाभार सम्हालेका मातृका यादवले भने त्यो चलन मानेनन्। उनले फाइलको अध्ययन नगरी हस्ताक्षर नगर्ने बताए।
मन्त्री यादवले प्रस्तावबारे विस्तृत जानकारी पाएपछिमात्र हस्ताक्षर गर्ने बताएकाले आज बिहान ९ बजे सचिवहरूले उनलाई फाइलबारे बिफ्रिङ गरेका थिए।
सचिवबाट फाइलबारे बिफ्रिङ सुनेपछि मन्त्री यादवले फाइल बुझेका छन्।
व्यापार घाटा न्यूनीकरण गर्न बनाइएको कार्यायोजनाको बारे मन्त्रीलाई सचिवहरूले विस्तृत जानकरी दिएपछि आज उनले उक्त फाइल बुझेको उद्योग सचिव रहेकी यमकुमारी खतिवडाले जानकारी दिइन्।
व्यापार घाटालाई कसरी कम गर्दै जाने र त्यसको लागि नेपाल सरकारका कुन निकायले कस्तो काम गनुपर्छ भनेर बनाइएको उक्त कार्ययोजना मन्त्रीले स्वीकृत गरेपछि मन्त्रिपरिषदमा लिइनेछ।
पदभार सम्हाल्दा विश्वासको अधारमा सचिवहरूले तयार पारेको प्रस्तावमा निर्णय गर्नें प्रचलन छ। प्रस्तावमा भएका प्राविधिक विषयमा मन्त्रीले स्पष्ट हुन चाहेकोले तत्काल हस्ताक्षर नगरेको सचिव चन्द्रकुमार घिमिरेको भनाइ छ।
‘प्रस्तावमा कतिपय प्राविधिक विषयवस्तु समावेस थिए त्यही कारणले उहाँले पहिले स्पष्ट हुन चाहनुभएको थियो’ उनले भने,‘आज हामीले सबै जानकारी गराएपछि उहाँले फाइल लिनुभएको छ।’