एमाले र माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच बुधबार सहमतिमा हस्ताक्षर हुने भएको छ। तीन दलले सहमतिको ड्राफ्टमा सहमति जुटाएका छन्। तर शीर्ष नेताहरूबीच छलफलपछि सहमति पत्रमा हस्ताक्षर हुने छलफलमा सहभागी एमाले नेता सुवास नेम्वाङले बताए।
नेम्वाङसहित एमालेका प्रदीप ज्ञवाली र फोरमका राजेन्द्र श्रेष्ठ र रामसहाय यादवले ड्राफ्ट तयार गरेका हुन्।
‘भोलि बिहान बैठक छ। नेताहरुले भोलि नै टुङ्गो लगाउने सम्भावना छ’, नेम्वाङले भने।
फोरमले उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने समझदारी यसअघि नै भैसकेको छ। यादव परराष्ट्रमन्त्री बन्ने समझदारी भैसकेको छ। फोरमले थप मन्त्रालय र उपसभामुखसमेत मागेको छ। यस विषयमा भने सहमति जुटिसकेको छैन।
फोरमसँग एमाले र माओवादीले ‘आपसी सहमतिमा आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने छ’ भन्ने वाक्याशं सहमतिमा राख्ने प्रतिवद्धता जनाएका छन्। फोरमले संविधान संशोधन भन्ने शब्द राखेर समझदारी गर्न प्रस्ताव गरेको हो।
स्रोतका अनुसार फोरमकै आग्रहमा संघीय सीमाङ्कन आयोग गठन गर्ने विषयसमेत सहमतिमा उल्लेख हुनेछ। ड्राफ्टमा संघीय सीमाङ्कन आयोग गठन गर्ने विषयमा उल्लेख हुने एक नेताले सेतोपाटीलाई बताए। संविधानको धारा २९५ मा संघीय सीमाङ्कन आयोगको प्रस्ताव छ। आयोगले सीमाङ्कन हेरफेर गर्न सरकारलाई सुझाव दिन सक्ने प्रावधान छ।
फोरमले संविधानमा उल्लेख भएकै विषय सहमतिमा राख्न प्रस्ताव गरेको छ।
संविधान जारी भएदेखिनै संघीय फोरमले सीमाङ्कनको विषयमा अहसमति जनाउँदै आएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला सीमाङ्कन हेरफेरको विषयमा संशोधन प्रस्ताव अगाडि बढाएका थिए।
रूपान्तरित संसदमा सो विषय टुङ्गोमा पुग्न सकेन। फोरमले प्रदेशको संख्या र सीमाङ्कन हेरफेर गर्ने शक्तिशाली आयोगको माग गर्दै आएको थियो।
फोरम अहिले सीमाङ्कन आयोग स्वीकार गर्न तयार भएको हो।
समझदारीमा हस्ताक्षर भए भोलि साँझ वा बिहीबार बिहान मन्त्रिपरिषद् विस्तार गर्ने तयारी ओलीले गरेका छन्।