राष्ट्रिय जनता पार्टीले संविधान संशोधनको विषयमा गम्भीर हुन सरकारसँग माग गरेको छ। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै संविधान संशोधनको विषयलाई सरकारले गौण राखेको आरोप लगाएको हुन्।
संघीय समाजवादी फोरमसँग एमाले र माओवादी केन्द्रले संविधान संशोधनको विषय उल्लेख गरेर समझदारीमा हस्ताक्षरको तयारी गरिरहँदा राजपाले संशोधनका विषयमा सरकार संवेदनशील नदेखिएको धारणा सार्वजनिक गरेको हो।
ठाकुरले जारी गरेको विज्ञप्तीमा भनिएको छ– मधेसी, थारु, आदिवासी जनजाती, पिछडावर्ग, अल्पसंख्यक, मुस्लिम र दलित लगायतद्वारा उठाएको माग पूरा हुने गरी संविधान संशोधन तथा झुठा मुद्दा फिर्ता, बन्दी रिहाइलगायतका विषय अबिलम्ब सम्बोधन हुने गरी वातावरण बनाउन इमान्दारीपूर्वक नेपाल सरकारसँग जोडदार माग गर्दछौं।
केपी शर्मा ओली नेतृत्वको सरकारले संघीय फोरमलाई सरकारमा ल्याउन ‘आपसी छलफल र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने’ वाक्य राखेर सहमतिमा हस्ताक्षरको तयारी गरिरहेको छ।