संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुन तीन मन्त्रालय मागेको छ। अध्यक्ष उपेन्द्र यादवले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चासो देखाएका छन्।
यसअघि २०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित परराष्ट्र मन्त्री बनेका यादवले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन भौतिक पूर्वाधार मन्त्रालय पाउनु पर्ने बताएका हुन्।
सरकारमा सहभागी हुन फोरम सहमत भइसकेको तर उसले पाउने मन्त्रालयमा कुरा भने मिल्न बाँकी रहेको एक एमाले नेताले जानकारी दिए।
‘दुई बुँदे सहमतिको मस्यौदा तयार छ, उहाँहरुले तीन मन्त्रालय माग्नुभएको छ, हामीले दुई मन्त्रालय भनेका छौं,’ ती नेताले भने, ‘आज यादवजी राजधानीबाहिर हुनुहुन्छ, भोलि (शनिबार) मन्त्रालय टुंग्याउन वार्ता हुन्छ।’
एमाले–माओवादी र फोरमबीच भएको दुई बुँदे सहमतिको मस्यौदामा फोरम सरकारमा सहभागी हुने र संविधान संशोधनबारे ‘आपसी छलफलद्वारा सहमति कायम गरी आवश्यक संविधान संशोधन गर्न सकिने छ’ भन्ने उल्लेख छ।
यादव आज होली कार्यक्रममा हुन विराटनगर गएका छन्।
भोलि फोरमसँग मन्त्रालयको पनि टुंगो लागे आइतबार मन्त्रिमण्डल विस्तार हुने सम्भावना रहेको ती नेताले बताए।