नागरिकतामा भएको गल्तीले राजपा अध्यक्ष मण्डलका नेता महिन्द्र राय यादवले २० गते जेष्ठ सदस्यको हैसियतमा प्रतिनिधि सभा सदस्यलाई सपथ खुवाउने भएका छन्।
यादव २०११ साल असार १५ गते जन्मिएका हुन्। नागरिकतामा भने उनको जन्ममिति १९९४ साल लेखिएको छ। उमेरले ६३ वर्षमात्र पुगेका यादवले संसदमा ८० वर्षको हैसियतमा सपथ खुवाउन लागेका हुन्।
यादवले नागरिकताको जन्म मिति अनुसार सपथ खुवाउन लागेको बताए।
सांसदलई सपथ खुवाउनुअघि उनले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिनेछन्।
यादवले राष्ट्रपतिसमक्ष मातृभाषा बज्जिकामा सपथ लिदैँछन्। सपथको व्यहोरा संसद सचिवालयलाई उनलाई उपलब्ध गराइसकेको छ।
उनले आफूले सांस्कृतिक पहिरन प्रयोग गर्ने बताए।
'संविधानले दिएको अधिकारको कुरा हो, सबैको भेषभुषा र भाषालाई समान अधिकार कानुनले दिएको छ', यादवले भने, 'संसद सचिवालयमा भाषाको कुरा लेखेर पठाएको छु।'
वास्तविक उमेरमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर र कांग्रेस सभापति शेरबहादुर देउवा यादवभन्दा जेठा छन्।
'यी सबै (नागरिकताको उमेर) कुरा प्राविधिक भयो', यादवले सेतोपाटीसँग भने, 'नागरिकतामा जे छ त्यही मान्य हुन्छ।'
यादव सर्लाही वसन्तपुर वडा नं ५ मा जन्मिएका हुन्।
प्रतिनिधि सभामा उनी सर्लाही क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्। संविधानसभामा अघिल्लोपटक यादवले आफ्नो जन्ममिति २०११ उल्लेख गरेका थिए।
राष्ट्रिय सभामा भने ६९ वर्षका तारादेवी भट्टले सपथ खुवाउनेछिन्।