फागुन २१ गते हुने नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावको कार्यतालिका सार्वजनिक भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालका अनुसार दलको नेताका लागि २० गते साँझ ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। त्यही दिन सवा ८ बजेसम्म दाबी विरोधमाथि जाँचबुझ गरी नामावली प्रकाशन गरिनेछ।
फागुन २१ गते बिहान सवा ८ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने साढे ८ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ।
केन्द्रीय कार्यालय सानेपामा बिहान १० देखि १ बजेसम्म मतदान हुनेछ।
रिजालले संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ शुल्क लाग्ने जानकारी दिए। मसलन्दलगायतमा खर्च हुने यो पैसा फिर्ता हुँदैन।
२०७० सालमा संसदीय दलको उम्मेदवार बन्न २५ हजार रुपैयाँ बुझाउनु पर्थ्यो। यसपालि १६ हजार रुपैयाँ बढाइएको हो।
कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान श्रेष्ठले उम्मेदवारी दिने बताएका छन्। महामन्त्री शशांक कोइरालाले पनि सर्वसम्मत भए आफू पनि संसदीय दलको नेता बन्न तयार रहेको बताउँदै आएका छन्।