शनिबार बिहान ११ बज्दा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निकै चहलपहल थियो। पार्टी एकताको सहमति गरिसकेका एमाले र माओवादी केन्द्रका सांसद प्रशिक्षणमा सहभागी हुन संसद भवनमा पुगेका थिए। दुबै दलले सपथको अघिल्लो दिन आफ्ना सांसदलाई संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे प्रशिक्षण राखेका थिए।
पहिलो पटक एमाले र माओवादी सांसदले संयुक्त प्रशिक्षण लिँदै थिए। तर त्यहाँभित्र उनीहरु दुई दल भएर छुट्टीएर बसेनन्।
एमाले र माओवादी सांसद छ्यासमिस भए। कतिपय पहिलो पटक सांसद भएकाहरूसमेत भएकाले परिचयको क्रम पनि चल्यो।
केहीबेरमा माओवादी अध्यक्ष प्रचण्डले सांसदहरुलाई सम्बोधन गर्दै पार्टी एकताका लागि गठित कार्यदलले काम अन्तिम चरणमा पुर्याएको बताए।
‘अबको केही दिन भित्रै पार्टी एकताले पूर्णता पाउँछ’, प्रचण्डले भने, ‘अनुहार पनि हेर्न नचाहने हामीबीच प्रेम परेको छ। एकअर्काबारे सुन्न र देख्न नचाहानेहरू एउटै खाट सुत्ने र एउटै थालमा खाने भएका छन्।'
प्रचण्डले संयुक्त प्रशिक्षणमा पार्टी एकता सामान्य घटना मात्र नभएको भन्दै यसलाई परिघटनाको रूपमा बुझ्न सुझाए। प्रचण्डले माओवादीको जनयुद्ध र एमालेको संसदीय संघर्षका कारण अहिलको परिवर्तन भएको बताए। दुई दल एकअर्काको परिपुरकका रूपमा अगाडि बढेकाले अहिले एकताको अवस्थामा पुगेको उनको भनाइ छ।
प्रचण्डले एमाले र माओवादी सांसदलाई पदका लागि लुछाचुँडी नगर्न सुझाएका छन्।
लामो समयको राजनीतिक अराजकताले हरेक क्षेत्रमा फोहोरको डङ्गुर जम्मा भएको उल्लेख गर्दै प्रचण्डले अब त्यो सफा गर्ने दायित्व आएको बताए।
‘त्यो सफा गर्ने दायित्व हाम्रासामू छ’, प्रचण्डले भने, ‘पदका लागि लुछाचुँडी गर्ने होइन। जनताको सेवा गर्न उपस्थित भएका छौँ। जनताले हामीलाई भरोसा गरेका छन्। त्यसैअनुसार आचरण र व्यवहार पनि हुनुपर्छ।'
प्रचण्डले वाम गठबन्धनको अबको यात्रा मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ हुने बताए। उनले अब समृद्धिको ढोका खोल्नेतर्फको यात्रा हुनु पर्ने तर्क गरे।
सांसदहरूलाई सम्बोधन गर्दै एमाले नेता एवं पूर्व सभामुख सुवास नेम्वाङले संसदीय नियम र अभ्यासको हेक्का राखेर प्रभावकारी भूमिका निर्वाह गर्न सांसद्हरुलाई आग्रह गरे। संघीय संसद्मा दुई दलका २१४ सदस्य छन्।