मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले मनोनयन गरेका राष्ट्रिय सभाका तीन सदस्यबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ।
न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाश राउतको इजलासमा सुनुवाइ हुनेछ।
शेरबहादुर देउवा सरकारले चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेलको नाम राष्ट्रिय सभा सदस्यमा सिफारिश गरेको थियो।
उनीहरुको नाम राष्ट्रपति कार्यालयबाट स्वीकृत नहुँदै बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलाका नाम फिर्ता लिएर डाक्टर युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेललाई सिफारिश गरेको थियो। राष्ट्रपति कार्यालयले ओली सरकारले सिफारिश गरेअनुसार तीन जनालाई राष्ट्रिय सभामा मनोनित गरिसकेको छ।
देउवा नेतृत्वको सरकारले सिफारिश गरेका तीन जनाले आफूहरुको नाम स्वीकृत नभएको भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए।
यसअघि फागुन १३ गते यो मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश राउतको एकल इजलासले मनोनित ३ जनालाई तत्काल सपथ नखुवाउन अन्तरिम आदेश दिएको थियो।