संघीय संसदमा आउँदो फागुन २६ गतेदेखि चैत ४ गतेसम्म ९ दिनको बीचमा ६ वटा निर्वाचन हुने भएको छ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलको सर्वदलीय बैठकलले सभामुख/उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष/उपाध्यक्षको निर्वाचनको मिति टुंगो लगाएको हो।
एमाले नेता भानुभक्त ढकालका अनुसार आउँदो फागुन २६ गते सभामुख चयनका लागि निर्वाचन हुनेछ। लगत्तै २७ गते प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनेछन्।
निर्वाचन आयोगले यसअघि नै २९ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति तोकिसकेको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरू २९ गते नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्नेछन्।
फागुन ३० गते राष्ट्रिय सभाका अध्यक्षका लागि राष्ट्रिय सभामा निर्वाचन हुनेछ।
लगत्तै चैत २ गते प्रतिनिधिसभामा उपसभामुख चयनका लागि निर्वाचन हुनेछ। सभामुख र उपसभामुख फरक लिङ्ग र समुदाय र दलबाट हुनुपर्ने भएकाले एकैपटक दुई निर्वाचन हुने छैनन्। त्यस्तै, राष्ट्रिय सभाको उपाध्यक्षका लागि चैतको ४ गते निर्वाचन हुनेछ।
संघीय संसदको बैठक भोलिबाट सुरु हुँदैछ। पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन आव्हानको पत्र पढेर सुनाउने कार्यक्रम राखिएको छ। त्यस लगत्तै शहीदको सम्झनामा मौन धारण हुनेछ।
संसदको जेष्ठ सदस्यको हैसियतले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र पढेर सुनाउँछन्। मन्त्रिपरिषद् गठन सम्बन्धी जानकारी संसदलाई हुनेछ। त्यस्तै, पहिलो बैठकले संसद सञ्चालनका लागि आवश्यक अन्तरिम कार्यविधि समेत पारित गर्ने कार्यसूची संसद सचिवालयले तयार गरेको छ।