सन् २०१३ को त्रिपुरा विधान सभा चुनावमा भारतीय जनता पार्टीले एक सिट पनि जितेको थिएन। उसले जम्मा एक प्रतिशत मत मात्र पाएको थियो।
यो उत्तरपूर्वी भारतीय राज्यमा दुई दशकदेखि भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) ले शासन गर्दै आएको थियो।
हिन्दुत्वको नारा बोकेको भाजपाले पछिल्लो चुनावमा ६० मध्ये ५० सिटमा मात्र उम्मेदवारी दिन सकेको थियो। तीमध्ये ४९ जनाको जमानत जफत भएको थियो।
यसपालि भारतीय राजनीतिको इतिहासमा ‘अभूतपूर्व’ घटना भएको छ। त्रिपुरामा भाजपाले पासा पल्टाएको छ।
त्रिपुराको विधान सभा चुनावमा भाजपा एक्लैले बहुमत प्राप्त गरेको छ। बहुमतका लागि ३१ सिट चाहिनेमा भाजपाले ३५ सिट जितेको छ। भाजपासँगले गठबन्धन गरेको इन्डिजिनियस फ्रन्ट अफ त्रिपुराले ८ सिट जितेको छ।
दुबैको मिलाएर दुई तिहाइ सिट पुग्छ।
भाजपाको यो जीतसँगै दुई दशकदेखि त्रिपुराका मुख्यमन्त्री रहेका मणिक सरकार युगको अन्त्यमात्र भएको छैन २५ वर्ष लामो लालकिल्ला पनि तोडिएको छ। पश्चिम बंगालका पूर्वमुख्यमन्त्री ज्योति वशुपछि मणिक सरकार सबैभन्दा लामो समय सरकार चलाउने कम्युनिष्ट नेता मानिन्थे।
अघिल्लो चुनावमा ४६ सिट पाएको भाकपा (मार्क्सवादी) यसपालि १६ सिटमा खुम्चिएको छ।
त्रिपुरा भारतको सबैभन्दा सानो तेस्रो राज्य हो। यहाँ झन्डै ३७ लाख जनसंख्या छ। त्यसमध्ये बहुसंख्यक बंगाली मूलका छन्। ३ तिरबाट बंगलादेश र पूर्वमा मिजोरमसँग जोडिएको त्रिपुरामा सन् १९९३ मा देखि कम्युनिष्ट पार्टीले शासन गर्दै आएको थियो।
हार स्वीकार गर्दै कम्युनिष्ट पार्टीले प्रतीपक्षीको भूमिकामा बस्ने बताएको छ।
कम्युनिष्ट किल्ला तोड्न भाजपाले २ वर्षअघिदेखि त्रिपुरामा अभियान थालेको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह आफैं चुनावी अभियानमा सरिक भएका थिए। साथै राष्ट्रिय स्वंयसेवक संघका कार्यकर्ता पनि आदिवासी बहुल क्षेत्रमा खटाइएका थिए।
भाजपाको जितको मुख्य कारण स्थानीय आदिवासीका मुद्दा उठाउदै आएको इन्डिजिनियस फ्रन्ट अफ त्रिपुरा (आइपिएफटी) सँग सो पार्टीको चुनावी गठबन्धन हो। आइपिएफटीले आदिवासीका लागि छुट्टै राज्य माग गर्दै आएको छ।
त्रिपुरामा २८ प्रतिशत आदिवासी जनजाति छन्। विधान सभाका २० सिट आदिवासी जनजातिका लागि आरक्षित गरिएको छ। यसपालि ती २० सिटमध्ये भाजपाले ११ र इन्डिजिनियस फ्रन्ट अफ त्रिपुरा ९ सिट जितेको छ।
त्रिपुराको ऐतिहासिक जितपछि नयाँदिल्लीमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले उत्तरपूर्वमा पार्टी प्रदर्शनप्रति गर्व लागेको बताएका छन्।
उनले कम्युनिष्टको हिंसामा ज्यान गुमाएका कार्यकर्ताको साहस र प्रेरणाले यो उपलब्धी प्राप्त भएको उल्लेख गर्दै केन्द्र सरकार उत्तरपूर्वको रूपान्तरणका लागि प्रतिवद्ध रहेको बताएका छन्।
त्रिपुराको जितसँगै भाजपा र उसको गठबन्धनले भारतका २९ मध्ये २१ राज्यमा सरकार बनाएको छ।