कान्तिपुर दैनिकविरुद्ध परेको अवहेलना मुद्दामा सर्वोच्च अदालतले बयान सुरू गरेको छ।
न्यायाधीशद्वय डम्बरबहादुर शाही र बमकुमार श्रेष्ठको इजलासमा बयान सुरू भएको हो।
आफूलाई लागेको अदालतको अवहेलना मुद्दामा बयान कान्तिपुर दैनिकका प्रकाशक र पत्रकार सर्वोच्च अदालत पुगेका छन्। सबैभन्दा पहिला कान्तिपुर मिडिया ग्रुपकी निर्देशक स्वस्तिका सिरोहियाले बयान दिएकी छन्।
सरकारी कागजातमै प्रधानन्यायाधीश गोपाल पराजुलीका चार जन्ममिति लगायत कान्तिपुरमा छापिएका समाचारले अदालतको अवहेलना भएको भन्दै मुद्दा परेको थियो।
सोही मुद्दामा सुनुवाइ गर्दै प्रधानन्यायाधीश पराजुलीको एकल इजलासले एक हप्ताअघि कान्तिपुरलाई बयानका लागि बोलाएको थियो।
माघ २७ गते कान्तिपुरले प्रधानन्यायाधीशका चार जन्ममिति शीर्षकमा समाचार छापेको थियो। त्यसको केही दिनमै पराजुलीका नागरिकतामै ३ वटा जन्म मिति भएको भन्दै समाचार छापेको थियो।
यी सबै समाचार झूटो भएको र यिनले अदालतको अवहेलना गरेको भन्दै ढुंगानाले कान्तिपुर पब्लिकेशन, कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचार लेख्ने संवाददाता कृष्ण ज्ञावली विरुद्ध मुद्दा हालेका हुन्।