नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सोमबार चुनाव हुँदैछ। बिहान १० बजेदेखि १ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने चुनावमा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन्।
सभापति देउवाले सर्वसम्मतरुपमा संसदीय दलको नेतामा दोहोरिने इच्छा देखाए पनि रामचन्द्र पौडेल समूहबाट पूर्वमहामन्त्री सिंहले उम्मेदवारी दर्ता गराएपछि चुनाव हुने भएको हो।
आईतबार अपरान्ह पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा सभापति देउवा र पूर्वमहामन्त्री सिंहले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गएका थिए।
सभापति देउवाले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका थिए। सभापति देउवाको प्रस्तावकमा विजयकुमार गच्छदार छन् भने समर्थक मानबहादुर विश्वकर्मा छन्।
देउवाको उम्मेदवारी मनोनयन भने नेता बालकृष्ण खाँडले गरेका थिए। सिंहलाई सितादेवी यादवले प्रस्ताव गरेकी छन् भने संजय गौतमले समर्थन गरेका छन्।
प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना सांसद छन्। मतदान लगत्तै मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ।
कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ। संसदीय दलको नेताको चुनावपछि संसदीय दल कार्यसमितिको चुनाव हुनेछ।
संसदीय दलको उपनेता र राष्ट्रियसभा दलको नेता पनि संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा उल्लेख छ । त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था छ।