संघीय संसदको पहिलो बैठक आज अपरान्ह बस्दै छ। देश संघीयतामा गएपछि सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक बस्न लागेको हो।
प्रतिनिधिसभा निर्वाचन सकिएको तीन महिनापछि आइतबार सांसदहरुले शपथ ग्रहण गरेका थिए। दुवै सदनको बैठक अपराह्न ४ बजे संघीय संसद भवनमा बस्ने भएको छ।
प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले र राष्ट्रिसभाको अध्यक्षता ज्येष्ठ सदस्य तारादेवी भट्टले गर्ने छन्।
संसदीय परम्पराअनुसार बैठकको सुरुमा राष्ट्रपतिबाट संघीय संसद्को आह्वान भएको सम्बन्धी पत्र पढेर सुनाइने छ ।
संघीय संसदको पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने र त्यस बेला दुवै सदनको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, पहिलो बैठक भने छुट्टाछुट्टै बस्नेछ।
पहिलो बैठक भएकाले शहीदहरुको सम्मानमा मौनधारण गर्ने र प्रधानमन्त्रीको नियुक्ति तथा मन्त्रिमण्डल बिस्तारबारे जानकारी गराइने भएको छ।
यसैगरी दुवै सदनको पहिलो बैठकलाई दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ।
त्यसैगरी दुवै सदनमा अन्तरिम कार्यविधि प्रस्तुत गर्ने र त्यसलाई पारित गर्ने कार्यतालिका निर्धारण गरिएको छ ।
प्रतिनिधिसभाले सभामुखको र राष्ट्रियसभाले अध्यक्षको निर्वाचन मिति तय गर्ने कार्यसूची पनि छ ।
प्रतिनिधिसभाका सभामुखका लागि फागुन २६ गते चुनावको मिति तोक्ने तयारी छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २७ गते विश्वासको मत लिने गरी मिति निर्धारण हुनेछ ।
संसद् सुरु भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ।
राष्ट्रिय सभाले फागुन ३० गते अध्यक्ष चयन गर्ने गरी मिति तय गर्ने तयारी छ। सभामुख र अध्यक्षको चयनपछि मात्र उपसभामुख र उपाध्यक्ष चयनको मिति तय हुने संसद सचिवालयले जनाएको छ ।