प्रतिनिधि सभाको पहिलो बैठक सकिएको छ। आजको बैठकले संसदको अन्तरिम कार्यविधि पारित गरेको छ।
संसद बैठक सुरु भएपछि जेष्ठ सदस्यका रुपमा अध्यक्षता गरेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद महन्थ ठाकुरले कार्यसञ्चालन नियमावली नबनेसम्मका लागि संसद गतिविधि चलाउने अन्तरिम कार्यविधि निर्णयार्थ पेस गरे।
सो प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नियमापत्ति गरे।
अन्तरिम कार्यविधि अध्ययन गर्न पाउनु पर्ने सुवालको माग थियो।
सुवालको कुरा सुनेपछि बैठकको अध्यक्षता गरिरहेका ठाकुरले प्रतिप्रश्न गरे– माननीय सदस्य, नियम नै बनेको छैन, कुन नियमावलीका आधारमा नियमापत्ति?
त्यसपछि सुवालले थप तर्क गरेनन्।
बैठकले ध्वनि मतमार्फत् अन्तरिम कार्यविधि सर्वसम्मत रुपमा पारित गर्यो। सुवाल आफैंले पनि प्रस्तावको विरोधमा मत दिएनन्।
संसदको अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि डाकिएको छ।