प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले नेतृ लक्ष्मी राईलाई राष्ट्रपति उम्मेदवार बनाएको छ।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले सेतोपाटीलाई जानकारी दिए।
संयोगवस राई र राष्ट्रपति विद्यादेवी भण्डारी दुबैको गृहजिल्ला भोजपुर हो। गएराति एमाले स्थायी समिति बैठकले राष्ट्रपति भण्डारीलाई दोस्रो पटक उम्मेदवार बनाउने निर्णय गरेको थियो।
लक्ष्मी कांग्रेस नेता दिवानसिंह राईकी छोरी हुन्। दिवानसिंह २०१५ सालमा सांसद निर्वाचित सांसद भएका थिए। उनी वीपी कोइराला सरकारमा सहायक मन्त्री बने। पञ्चायत कालमा दिवानसिंहको हत्या भएको थियो।
राष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ।
एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि उम्मेदवार बनाउने निर्णय गरेको छ।
कांग्रेसका एक नेताले एमाले र माओवादीलाई भण्डारीको सट्टा अरुलाई राष्ट्रपतिको उम्मेदवार बनाए कांग्रेसले उम्मेदवारी नदिने सन्देश पठाएको बताए।
‘राष्ट्रपति भण्डारी र उहाँको राजनीतिक योगदानप्रति हाम्रो सम्मान छ तर उहाँले राष्ट्रिय सभा निर्वाचन अध्यादेशको बेलादेखि जुन भूमिका खेल्नुभयो, त्यसले राष्ट्रपति पदको गरिमा राख्न नसकेको हाम्रो ठम्याइ छ,’ ती नेताले भने।
राष्ट्रपति भण्डारीको उम्मेदवारीप्रति असहमति ‘रेकर्ड’ गराउन कांग्रेसले उम्मेदवारी दिन लागेको उनले बताए।
राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न संविधानले निर्वाचक मण्डलको परिकल्पना गरेको छ। यस्तो निर्वाचक मण्डलमा संघीय संसद (प्रतिनिध सभा र राष्ट्रिय सभा) तथा प्रदेश सभाका सांसद रहन्छन्। उनीहरुको मतभार भने फरक फरक हुन्छ।
संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्नु पर्ने उल्लेख छ।
तर राष्ट्रपति चयन भएको सात दिन भित्रै उपराष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रियाको प्रारम्भ गर्नुपर्ने प्रावधान ऐनमा छ।
राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार सांसद हुनु पर्ने बाध्यता छैन। प्रस्तावक र समर्थक भने सांसद चाहिन्छ। राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक मात्र ५ जना सांसद हुनु पर्नेछ भने समर्थक ५ जना हुनुपर्नेछ। प्रस्तावक र समर्थक प्रदेशका सांसद पनि हुन पाउँछन्।
संघीय संसदमा सातै प्रदेश सभामा कांग्रेस अल्पमतमा रहेकाले एमाले उम्मेदवार भण्डारी पुनः राष्ट्रपति बन्ने लगभग निश्चित छ।
https://youtu.be/khGxEAxMzL8