सरकारले राष्ट्रियसभामा सिफारिस गरेर राष्ट्रपतिले मनोनयन गरेपनि मुद्दाका कारण स्थगित भएको तीन सदस्यको शपथ लिएका छन्।
राष्ट्रियसभाका जेष्ठ सदस्य तारा देवी भट्टले युवराज खतिवडा,रामनारायण विडारी र विमला पौड्याल राईले पद तथा गोपनियता शपथ खुवाएकी हुन्।
उनीहरूलाई केपी ओली प्रधानमन्त्री भएपछि सरकारले राष्ट्रियसभामा सिफारिस गरेको थियो। देउवा सरकारले सिफारिस गरेका तीन जना सदस्यको नाम राष्ट्रपतिकहाँबाट फिर्ता लिएर सरकारले खतिवडा, विडारी र पौड्याल राईको नाम पठाएको थियो। उनीहरूलाई राष्ट्रपतिले मनोनित गरेपछि देउवा सरकारले सिफारिस गरेका तीन सदस्य सर्वोच्च अदालत गएका थिए।
सर्वोच्च अदालतले ओली सरकारको सिफारिसमा मनोनित भएका तीनजनाको शपथ रोक्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले दुवै पक्षको बहस सुनेपछि पहिले दिएको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएन। सर्वोच्चको पछिल्लो आदेशपछि खतिवडा, विडारी र पौड्यालले शपथ लिएका हुन्।
तर, उनीहरूले राष्ट्रपतिलाई भोट हाल्न भने पाउने छैनन्। उनीहरूको शपथ सर्वोच्चले रोकेकै बेला निर्वाचन आयोगले राष्ट्रपतिलाई भोट दिने मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको थियो। त्यसमा उनीहरूको नाम समावेश छैन।
https://www.youtube.com/watch?v=8Yx_JXyppFE&feature=youtu.be