बाधा अड्काउ फुकाए राष्ट्रिय सभामा मनोनित तीन सदस्यले २९ गते हुने राष्ट्रपतिको निर्वाचनमा भोट हाल्न पाउने भएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति चुनावका लागि स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले बाधा अडकाउ फुकाउका लागि आयोगसमक्ष अनुरोध गर्न सक्ने बताए।
‘कार्यालयले सिफारिश गरेर पठाए आयोगले मतदाता नामावलीमा छुटेकालाई पनि मत दिन सक्ने गरी बाधा अडकाउन फुकाउने व्यवस्था छ,’ प्रवक्ता ढकालले भने, ‘अन्य चुनावमा पनि कुनै मतदातालाई मताधिकारबाट आयोगले बञ्चित गर्दैन।’
राष्ट्रपति चुनावका लागि बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ।
मुख्य निर्वाचन अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ तोकिएका छन्।
आयोगले राष्ट्रपतिको चुनावमा मतदान गर्ने संघीय सांसदका र प्रदेश सभा सदस्यको नामावली प्रकाशन गरिसकेको छ।
सपथ नभएकाले राष्ट्रिय सभामा मनोनित अर्थमन्त्री युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौड्याल राईको नाम नामावलीमा छुटेको थियो।
अदालतको आदेशअनुसार तीनै जनाले शुक्रबार राष्ट्रिय सभा सदस्यको सपथ लिएका छन्।
निर्वाचन आयोगले संघीय सांसद ९प्रतिनिधि र राष्ट्रिय सभा० को मतभार ७९ तोकेको छ भने प्रदेश सभा सदस्यको मतभार ४८ कायम गरेको छ।
राष्ट्रपतिको चयन पनि यही मतभारको आधारमा हुनेछ। राष्ट्रपति निर्वाचन हुन कुनैपनि उम्मेदवारले कूल मतभार ५२ हजार ७ सय ८६ को ५१ प्रतिशत ल्याउनुपर्ने हुन्छ। निर्वाचनसम्बन्धी कानुनमा सदर मत भनिएको छैन। यसको अर्थ कूल मतको ५१ प्रतिशत मतभार अर्थात् २६ हजार ९ सय २० मतभार ल्याउने राष्ट्रपति चयन हुनेछ।