नेपाली सेनाले वार्षिक ५० करोडमा व्यापारीलाई भाडामा दिन लागेको त्रिचन्द्र अस्पतालको सम्झौता रद्द गरेको छ।
सेनाले तोकिएको समयमा सम्झौता गर्न नआएको भन्दै एभरेष्ट ट्रेडर्ससँगको सम्झौता रद्द गरेको हो।
ट्रेडसका सञ्चालक चन्द्र श्रेष्ठलाई सम्झौताका लागि समय दिए पनि सम्पर्कमा नआएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘एक महिनाको समयावधी तोकी सम्झौताकोलागि पत्राचार गरिएकोमा सम्बन्धित व्यक्ति सम्झौताको लागि नआएको र नियमबमोजिम पुनः सात दिन म्याद थप गरी पत्राचार गर्दासमेत सम्झौताको लागि मान्य अवस्थासहित नआएको हुँदा विधि र प्रकृया पूरा गरी कानुन बमोजिमका विकल्पहरु अपनाउने प्रकृयामा रहेको छ।'
यसअघि श्रेष्ठले १५ वर्षका लागि भवन भाडामा लिने टुंगो भएको थियो। भवनको ३ लाख ३० हजारमध्ये २ लाख ८५ हजार वर्गफिट सेनाले भाडाका लागि टेन्डर गरेको थियो। टेन्डर प्रक्रियामा ८ वटा कम्पनीले प्रतिष्पर्धा गरेका थिए।
एभरेष्ट ट्रेडर्सले वार्षिक ५० करोड भाडा तिर्ने गरी श्रेष्ठले टेन्डर पाएका थिए।
सेनाले सम्झौतामा एक वर्षको अग्रिम भाडा दिनुपर्ने तथा अर्को एक वर्षका लागि बैंक ग्यारेन्टी पेश गर्नु पर्ने सर्त राखेको थियो। एक अर्ब रकम जम्मा गर्न नसकेपछि एभरेष्ट ट्रेडस सेनासँगको सम्पर्कबाट ढिएको थियो।
सुरुवातमा अस्पताल लागि भवन निर्माण सुरु गरेको सेनाको कल्याणकारी कोषले पछि भवन भाडामा दिने निर्णय गरेको भन्दै यसको आलोचना पनि भएको थियो।
सैनिक प्रवक्ता गोकुल भण्डारीले सेनाले भवन भाडामा लगाउन नयाँ टेण्डर आव्हान गर्न सक्ने बताए।
‘अब प्रक्रिया अनुसार नै अगाडि बढ्ने हो’, भण्डारीले भने, ‘नयाँ टेण्डर आव्हान पनि हुन सक्छ।‘
उनले कस्तो प्रक्रिया भन्ने विषयमा भने खुलाएनन्। टेण्डर प्रक्रियामा दोश्रो हुनेलाई सम्झौताका लागि बोलाउने वा नयाँ टेण्डर आह्वान गर्ने भन्ने सेतोपाटीको प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन्।
सेनाले सैनिक सैनिक ऐन २०६३ अनुसार कल्याणकारी कार्यहरुको निरन्तरताको लागि आय आर्जनको श्रोत विविधिकरणका लागि भवन भाडामा दिन लागिएको जनाएको छ।
सेनाले सैनिक कोषमा मासिक चार करोड आय थपिने गरि भवन भाडामा दिने काममा रक्षा मन्त्रालयलाई समेत बाइपास गर्दै आएको छ।