प्रदेश नं. ५ मा शनिवारका लागि तय भएको संसदीय दलको नेता चुन्ने चुनाव अन्तिमा आएर रोकिएको छ । सांसदहरुले आउन नसकेको बाहानामा आजका लागि तय गरिएको निर्वाचन अन्तिममा आएर स्थगित गरिएको छ ।
निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले सांसदहरुले आज आउन नसक्ने बताएको हुँदा निर्वाचन सार्नु परेको जानकारी दिए । यो सहित प्रदेश नं. ५ मा काँग्रेसको संसदीय दलको नेता चुन्न निर्धारण गरिएको निर्वाचन तेश्रोपटक प्रभावित भएको छ ।
यसअघि माघ अन्तिम साता, फागुन १४ गते र तेस्रोपटक फागुन २६ गते निर्वाचन गर्ने जानकारी दिइएको थियो । तर २७ गते पछि बस्ने अर्काै प्रदेशसभा बैठक भन्दा अगाडि नै काँग्रेसले संसदीय दलको नेता चयन गरिसक्ने एक नेताले दाबी गरे ।
प्रदेश नं. ५ मा दलको नेतामा ५ जनाले दाबी गर्दै आएका छन् । प्रदेशकै जेष्ट सदस्य बलदेव शर्मा पोखरेल, डिल्लीबहादुर चौधरी, वीरबहादुर राना, विरेन्द्र कनौडिया, र फकरुद्दिन खाँको उम्मेदवारी परेको छ ।