एक सातादेखि जेलभित्रै आमरण अनशनमा बसेका रेशम चौधरीलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ। उनलाई साँझ वीर अस्पतालमा भर्ना गरिएको हो।
अनशन बसेका चौधरीको स्वास्थ्य अवस्था बिग्रिएपछि गृहमन्त्री राम बहादुर थापाको निर्देशनमा उनलाई काटमाडौं ल्याइएको हो। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यले शनिवार गृह मन्त्री रामबहादुर थापालाई भेटेर चौधरीको माग पूरा गर्न ध्यानाकर्षण गराएपछि उनलाई काठमाडौं झिकाएर उपचार गर्न थापाले निर्देशन दिएका थिए।
अनशनरत चौधरीको स्वास्थ्यमा खराबी देखिएपछि शुक्रवारदेखि सेती अञ्चल अस्पताल भर्ना गरिएको थियो।
राष्ट्रिय जनता पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका चौधरी प्रतिनिधि सभामा निवार्चित छन्। टीकापुर घटनालगत्तै प्रहरी पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जनासँगै विभिन्न माग राख्दै जेलभित्रै अनशन सुरू गरेका थिए। चौधरी सहित सो प्रकरणमा जेलपरेका उनीहरूले चौधरीलाई निर्वाचितको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टीकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पूरा गर्नुपर्ने भन्दै एक साताअघिदेखि हिरासतभित्रै आमरण अनशनमा सुरू गरेका थिए।
घटना भएको झण्डै ३० महिनापछि गएको १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका टीकापुर घटनाका मुख्य आरोपी चौधरी घटनालगत्तै फरार भएका थिए।