संघीय समाजवादी फोरम नेपाल २ मन्त्रालयसहित केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। दुई पार्टीबीच विभिन्न चरणमा भएका छलफलपछि फोरमका २ मन्त्रालय लिएर सरकारमा जान सहमत भएको हो।
प्रधानमन्त्री ओली निकट एक एमाले नेताका अनुसार फोरमका मन्त्रीसहित चैत १ गते मन्त्रिमण्डल विस्तार हुने सम्भावना छ। फोरम सरकारमा आउने भएपछि एमाले र माओवादी केन्द्र थप मन्त्री सपथ हुन सकेको थिएन।
फोरमले १ जना राज्यमन्त्री पनि मागेको छ।
फोरमले पाउने मन्त्रालयको टुंगो भइसकेको छैन। फोरमले आफूलाई दुबै विकास सम्बन्धी मन्त्रालयको माग गरिरहेको छ। उसले भौतिक परियोजना र उर्जामध्ये एउटा, सहरी विकास र कृषिमध्ये एउटा मन्त्रालय मागेको ती नेताले जानकारी दिए।
फोरमले यसअघि नै ओली सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ। आज प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे निर्णय गर्न पार्टी बैठक बस्दै छ।
अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपाल भने सरकारमा सहभागी हुनेबारे भने टुंगो भइनसकेको ती एमाले नेताले जानकारी दिए।
राजपा सरकारमा जान इच्छुक छ र प्रधानमन्त्री ओली पनि मिलेसम्म सो पार्टीलाई सरकारमा ल्याउने पक्षमा छन्। तर माओवादी र एमालेभित्रै राजपालाई सरकारमा ल्याउनु हुन्न भन्ने मत छ।
माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठकमा नारायणकाजी श्रेष्ठलगायतका नेताले राजपालाई सरकारमा ल्याउन नहुने तर्क गरेका छन्।
'पछिल्लो जनादेशको मर्म पनि राजपालाई सरकारमा सहभागी गर्ने होइन', एक माओवादी नेताले भने, 'हामी जे-जस्ता मुद्दा लिएर जनतामा गयौं र जनताले हामीलाई भोट दिए त्यसको सम्मानका लागि पनि राजपालाई सरकारमा ल्याउन हुन्न।'
माओवादीजस्तै एमालेका पनि कतिपय दोस्रो पंक्तिका नेताले राजपालाई सरकारमा ल्याउनु ठिक नहुने तर्क गर्दै आएका छन्।
राजपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय भने गरिसकेको छ।