डाक्टर केसी र कान्तिपुरको मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीसँग इजलासमा बस्न अस्वीकार गर्ने न्यायाधीश चोलेन्द्र शमशेर राणाको कदम गलत भएको भन्दै वकिलहरुको छातासंगठन नेपाल बार एशोसिएशनले भर्त्सना गरेको छ।
सोमबार विज्ञप्ति जारी गरी बारले न्यायाधीश राणाले आचारसंहिता विपरितको काम गरेको बताएको छ।
'डाक्टर केसी र कान्तिपुर दैनिकको मुद्दा वृहद पूर्ण इजलासमा तोकिएकोमा उक्त इजलासका एकजना न्यायाधीश चोलेन्द्र शमशेर जबराबाट जारी भएको बक्तब्यलाई न्यायमूर्तिको आचारसंहिता विपरित र अदालतमाथिको प्राहर भएको नेपालबारको ठम्याइ छ,' नेपालबारको विज्ञप्तिमा उल्लेख छ, 'उहाँले गरेको उक्त कार्यबाट गलत प्रकृया र पद्धतिको शुरुवात भएको हुँदा त्यसप्रति नेपालबार भर्त्सना गर्दछ।'
उक्त विज्ञप्तिमा बारेले संवैधानिक परिषद् र संसदीय सुनुवाईबाट चुनिएर न्यायसम्पादन गरिरहेका प्रधानन्यायाधीशप्रति गलत लाञ्छना लगाउने, न्यूनतम मर्यादा तथा आचरणलाई ख्याल नगरी बक्तव्यवाजी गरेको भन्दै दुख मनाउ गरेको छ।
सोमबार दिउँसो बैठक बस्नु अघि नेपालबारका अध्यक्ष शेरबहादुर केसी, महासचिव खम्म बहादुर खातिसहित बारपदाधिकारीले प्रधानन्यायाधीशलाई भेटेका थिए।
बार महासचिव खातिका अनुसार उक्त भेटमा प्रधानन्यायाधीश पराजुलीले न्यायाधीश राणाको कदम प्रति असन्तुष्टी जनाएका थिए।
'उहाँले एक्लै गएर इजलासमा नबस्ने घोषणा गर्नुभयो, बरु एकपटक मलाई भनेको भए पनि हुन्थ्यो,' प्रधानन्यायाधीशलाई उदृत गर्दै खातिले भने।
उता उच्च अदालतको बार एशोसिएसनले भने प्रधानन्यायाधीश पराजुलीको राजिनामा माग गर्दै विज्ञप्ति प्रकाशित गरेको छ।
फरकफरक जन्ममिति भेटिएको तथ्य देखाउँदै न्यायाधीश राणाले नै प्रधानन्यायाधीश पराजुलीसँग इजलासमा बस्न अस्वीकार गरेपछि उनले राजिनामा दिनुपर्ने पाटन उच्चबारको भनाई छ।
'प्रधानन्यायाधीश पराजुली ०७४ साउन २१ गतेनै अवकाश भैसक्नुपर्ने हुँदा न्यायपालिकाको साख र न्यायिक स्वतन्त्रता बचाउनको लागि समेत वहाँले तोकेको बेञ्च र साथमा बसी न्यायसम्पादन गर्न कानून र न्यायको सिद्धान्तले नमिल्ने भएको भनि इजलासबाट बाहिरिनुभएको घटनामा यसबारको ध्यानाकर्षण भएको छ,' उच्चबारको विज्ञप्तिमा उल्लेख छ।
न्यायलयलाई अझै विभाजन र विवादित बनाउनु कसैको हितमा नभएको भन्दै पाटन उच्चबारले प्रधानन्यायाधीशको राजिनामा माग गरेको हो।
'न्यायपालिकाको स्वतन्त्रताको रक्षा र गरिमालाई अक्षुण राख्न र अहिलेको न्यायिक संकट समाधानको लागि सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीले अविलम्ब राजिनामा दिन उपयुक्त हुने हुँदा राजिनामा दिनको लागि यस बार एशोसिएशन जोडदार माग गर्दछ,' विज्ञप्तिमा उल्लेख छ।