नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टीले आज हुने राष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने भएका छन्।
नयाँ शक्तिले विज्ञप्ति जारी गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा निरन्तर पैरवी गर्दै आएको पार्टी भएकाले राष्ट्रपतिमा भोट नहाल्ने बताएको छ।
'संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निश्पक्ष, मर्यादापूर्ण र दलीय आग्रहभन्दा माथि हुनु पर्दछ। तर विगतका कतिपय अभ्यासहरु संवैधानिक राष्ट्रपतिको पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको देखिन्छ। दलहरुले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रिय व्यक्तित्वलाई अघि सार्न सकेको देखिँदैन। यस प्रकारका अभ्यास भविष्यमा पुनरावृत्ति नहुने कुनै प्रत्याभूति छैन। त्यसैले यस्ता अभ्यासलाई समर्थन गरिरहनु वाञ्छनीय देखिँदैन,' विज्ञप्तिमा भनिएको छ।
त्यस्तै प्रदेश सभाका तीन सदस्य मतदाता रहेको विवेकशील साझा पार्टीले पनि राष्ट्रपतिमा कसैलाई भोट नहाल्ने निर्णय गरेको छ।
विवेकशील साझाले अहिले दलहरुले अघि सारेका राष्ट्रपतिको उमेदवारहरुलाई हेर्दा जो सुकै विजयी भए पनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून देखिएकाल राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो।
राष्ट्रपतिका लागि मंगलबार १० देखि ३ बजेसम्म मतदान हुँदेछ।