अदालतको अवहेलना गरेको भन्दै डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्ध परेको मुद्दाको सुनुवाइ अनिश्चित भएको छ।
आइतबारदेखि पूर्ण इजलासमा बहस सुरू भएका यी मुद्दामा मंगलबार प्रधानन्यायाधीश गोपाल पराजुलीले इजलास नतोकेपछि सुनुवाइ अनिश्चित भएको हो।
यसअघि सोमबार पूर्ण इजलासमा रहेका न्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानन्यायाधीश पराजुलीको इजलासमा बस्न अस्वीकार गरेपछि मुद्दाको सुनुवाइ स्थगित भएको थियो।
प्रधानन्यायाधीश पराजुलीका नागरिकता र कागजात हेर्दा उनले गत साउनै अवकाश पाउनु पर्ने भए पनि जन्ममिति सच्याएर अहिलेसम्म सेवामा रहेको न्यायाधीश जबराको तर्क छ।
न्यायाधीश जबराले प्रधानन्यायाधीश पराजुलीको इजलास बहिष्कार गरेपछि हिजै बाँकी न्यायाधीशले प्रधानन्यायाधीशलाई भेटेर न्याय सम्पादनबाट अलग बस्न सुझाव दिएका थिए।
प्रधानन्याधीश पराजुलीले भने मंगलबारका सबै इजलास आफैं तोकेका छन्। आज न्यायाधीश जबराको कुनै पनि इजलास तोकिएको छैन।