निर्वाचन आयोगले आजै चार बजेबाट राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना गर्ने जानकारी दिएको छ। राष्ट्रपति चयनका लागि बिहान १० बजे देखि ३ बजेसम्म नयाँ बानेश्वरमा मतदान भएको थियो। निर्वाचन आयोगले उम्मेद्वारका प्रतिनिधि टुङ्गो लागेपछि बानेश्वरमै मतगणना प्रारम्भ हुने जानकारी दिएको छ।
निर्वाचन आयोगले संघीय संसदका ३ सय २६ र प्रदेश सभाका ५३६ गरि कूल ८ सय ६२ जनाले मतदान गरेको जनाएको छ। आयोगले साँझसम्म मतपरिणाम समेत आउने जानकारी दिएको छ। आयोगका अनुसार ८ सय ८० मतदाता मध्ये १८ जना मतदानमा अनुपस्थित भएका हुन्।
अनुपस्थित हुनेमा ५ जना संघीय संसदका र १३ जना प्रदेश सभाका हुन्। संघीय संसदका बाबुराम भट्टराई, प्रेम सुवाल, रेशम चौधरी, रमेश यादव र जितेन्द्रनारायण देव मतदानमा सहभागि भएनन्। सुवालको पार्टी नेमकिपाले मतदान बहिष्कार गरेको हो। त्यस्तै विवेकशिल साझा पार्टीले पनि राष्ट्रपति निर्वाचन बहिष्कार गरेको थियो। उसका प्रदेश सभामा ३ सांसद छन्। भट्टराई विदेशमा छन् भने चौधरी जेलमा छन्। रमेश यादव भने संघीय संसदको बैठकमा समेत अनुपस्थित रहँदै आएका छन्।
राष्ट्रपति पदकालागि एमालेबाट विद्यादेवी भण्डारी र नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन्। राष्ट्रपतिमा निर्वाचित हुने उम्मेद्वारले कुल मतदाताको ५१ प्रतिशत मत ल्याउनुपर्छ।
कुनैपनि उम्मेद्वारेले ५१ प्रतिशत मत नआएको अवस्थामा पुन: राष्ट्रपति चयनका लागि निर्वाचन हुनेछ। आयोगले राष्ट्रपतिको मतपरिणाम घोषणा भए लगत्तै उपराष्ट्रपति चयनकालागि निर्वाचनको तयारी गरिरहेको छ।
राष्ट्रपति निर्वाचित भएको ७ दिन भित्र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ।