उपराष्ट्रपति चयनका लागि आउँदो चैत ९ गते निर्वाचन हुने भएको छ। निर्वाचन आयोगले आज उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।
आयोगले उपराष्ट्रपतिको उम्मेद्वार दर्ताका लागि राष्ट्रपति भन्दा फरक लिङ्ग र समुदायको व्यक्ति हुनुपर्ने स्पष्ट गरेको छ। संविधानले फरक फरक लिङ्ग वा समुदायको व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्ने व्यवस्था गरेको छ। आयोगले खस आर्य समुदायकी महिला राष्ट्रपति निर्वाचित भएकाले अब उपराष्ट्रपति सोही समुदायबाट हुन नसक्ने जनाएको छ।
आयोगले आउँदो चैत ३ गते उपराष्ट्रपतिको मनोनयन दर्ताको कार्यक्रम राखेको छ। आयोगले चैत १ गते मतदाताको अन्तिम नामावली प्रकाशित गर्ने जनाएको छ। यसअघि राष्ट्रपति चुनावमा भोट हाल्न नपाएका राष्ट्रिय सभाका ३ सदस्यले यसपटक मतदान गर्न पाउनेछन्।
उपराष्ट्रपति चयनका लागि संघीय संसद र प्रदेश सभाका सदस्यहरुले मतदान गर्नेछन्।