मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको सचिवालयका कर्मचारी कटौती गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको सचिवालयमा कटौती गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्रीले आफ्नो सचिवालयमा सल्लाहकार, विज्ञसहित ४७ जनासम्म राख्न सक्ने व्यवस्था थियो। त्यसलाई घटाएर २७/२८ कायम गर्ने निर्णय भएको सूचना तथा सञ्चार राज्यमन्त्री गोकूल बाँस्कोटाले जानकरी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले मितव्ययिता कायम गर्न सचिवालयमा कटौती गर्ने निर्णय गरेको बाँस्कोटा बताए। त्यस्तै प्रधानमन्त्री कार्यालय मातहत पाँच वटा समिति राख्ने निर्णय पनि बैठकले गरेको छ।
सामाजिक, राजनीतिक, आर्थिक तथा पूर्वाधार, प्रशासकीय र विधेयक समिति राख्ने निर्णय गरेको हो।
राज्यमन्त्री बाँस्कोटाले मुख्यमन्त्रीहरूसँग छलफल लामो चलेका कारण मन्त्रिपरिषद् बैठकमा धेरै विषयमा छलफल हुन नसकेको बताए।
'छिट्टै अर्को बैठक बसेर अन्य प्रशासनिक विषयमा निर्णय लिइन्छ', उनले भने।