प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले एमाले र माओवादी केन्द्रबीच एकतापछि आफूले नै पद छोड्नुपर्ने वाध्यता नभएको बताएकी छन्।
सोमबार पत्रकार सम्मेलन गरेर तुम्बाहाङ्फेले आफूले नै पद छाड्नु पर्ने संविधानमा नलेखिएको दाबी गरेकी हुन्।
'सभामुख वा उपसभामुख कसको पद गुम्ने स्पष्ट छैन', तुम्बाहाङ्फेले भनिन्, 'एकीकरणपछि के के हुन्छ पछिको कुरा हो।'
एमाले पार्टीको सदस्यता र संसदीय दलको सदस्यबाट राजीनामा दिएको सार्वजनिकसमेत गरेकी छिन्।
पत्रकार सम्मेलनमा उनले आफ्नो पद गुम्ने वा नगुम्ने स्पष्ट नभएको बताइन्।
उनले सभामुख आफू बन्न सक्ने समेत बताइन्। 'संसदमा 'कल्चर' पछ्याउने सम्भावनाको ढोका खुल्लै छ', तुम्बाहाङ्फेले सांकेतिक भाषा प्रयोग गरिन्। यसअघि उपसभामुख भएकी ओनसरी घर्ती सभामुख बनेकोतर्फ उनले इङ्गित गरेकी हुन्।
नेकपा एमाले र माओवादी केन्द्रले केही दिनभित्रै पार्टी एकताको तयारी गरिरहेका छन्। निर्वाचन आयोगले पार्टी दर्ता भएको प्रमाणपत्र दिएपछि दुबै पार्टीले संसद सचिवालयमा एउटै पार्टीको मान्यता पाउनेछ।
संविधानको व्यवस्थाअनुसार सभामुख वा उपसभामुखमध्ये एकले राजीनामा दिनु पर्ने हुन्छ। संविधानको धारा ९१ को २ ले प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक-फरक दलको हुनु पर्ने व्यवस्था गरेको छ।
नेपाली कांग्रेसले उपसभामुखको निर्वाचनकै बेला 'भविष्यमा एक हुने पार्टी' भन्दै उपसभामुख वाम गठबन्धनबाट हुन नहुने धारणा संसदमै राखिसकेको छ। यसले पनि कांग्रेसले दुई पार्टीको एकतालगत्तै संसदमा सभामुख र उपसभामुखको विषय उठाउने निश्चित प्राय: देखिन्छ।
एमाले र माओवादीका नेताहरुबीच पार्टी एकतापछि उपसभामुख पद संघीय फोरमलाई दिने चर्चा छ।