नेपाली कांग्रेसले भारतमा उपचार गराइरहेका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बुझ्न पार्टीका दुई नेतालाई मंगलबार भारत पठाउने निर्णय गरेको छ।
केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले खड्कालाई भेट्न केन्द्रीय सदस्य शंकर भण्डारी र रमेश लेखकलाई पठाउने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
खड्का लामो समयदेखि मृगौला र नशाको समस्याबाट पीडित छन्। गत फागुनदेखि खड्का भारतस्थित अस्पतालमा उपचार गराइरहेका छन्। बैठकले खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
यस्तै निर्वाचन हारको समीक्षा गर्न बसेको कांग्रेस बैठकमा सोमबार केन्द्रीय सदस्य बलबहादुर केसी, शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, जीवन परियार, गोविन्द भट्टराई, रामकृष्ण यादव, डिला संग्रौला, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार र आमन्त्रित सदस्य बालकृष्ण पाण्डेले धारणा राखेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बैठकमा बोल्दै नेता लेखकले लोकप्रिय मत हेर्दा पार्टीको पराजय नभएपनि प्राविधिक कारणले मात्रै पार्टी हारेको बताए। उनले सभापति शेरबहादुर देउवाको बचाउ गर्दै हारको कारण नेतृत्व मात्रै नभएको जिकिर गरेका थिए।