चितवनको भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।
भरतपुरमा सोमवार आयोजित पत्रकारसम्मेलन मार्फत मेयर रेनु दाहालले धुर्मुस सुन्तली फाउण्डेशनलाई चितवनमा रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराउने बताएकी हुन्।
भरतपुर महानगरपालिका वडा नः २० मा रहेको चित्रवन रंगशाला निर्माण गर्ने स्थल धुर्मस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराउने मेयर दाहालले जानकारी दिएकी हुन्।
‘आजै महानगरबाट कलाकार सिताराम कट्टेललाई पत्राचार गर्छौं, रंगशाला निर्माणका लागि चाहिनेजति जग्गा पनि उपलव्ध गराउछौं,’ मेयर दाहालले भनिन्,‘जग्गासँगै निर्माणका लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौ।’
महानगरका तर्फबाट सोमबार नै धुर्मस सुन्तली फाण्डेशनलाई पत्र लेख्ने र दिउँसो बस्ने बोर्ड बैठकले अनुमोदन गर्ने तयारी महानगरले गरेको छ। चित्रवन रंगशाला निर्माण स्थलमा १० विगाहा जग्गा छ। थप अन्य जग्गा समेत उपलब्ध गराउन सकिने महानगरले जनाएको छ।
कलाकार सिताराम कट्टेल धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेपछि भरतपुर महानगरपालिकाले चितवनमा क्रिकेट रंगशाला निर्माण गर्न पहल थालेको हो।
२०७१ सालदेखि निर्माण सुरु गरिएको रंगशाला अलपत्र अवस्थामा थियो।
गतवर्ष प्रचण्ड नेतृत्वको सरकारले विनियोजन गरेको ५० लाख रूपैंया मध्ये १९ लाख ३० हजार रुपैंयाले कम्पाउण्ड निर्माण गरिएको चित्रवन रंगशाला अन्तिम समयमा बजेट अभाव भएको भन्दै अलपत्र अवस्थामा थियो।
२०७१ सालमा साविकको चित्रवन नगरपालिका स्थापना भएपछि रंगशाला निर्माणका लागी समिति गठन गरिएको थियो । प्रशस्त खाली जग्गा रहेको सो क्षेत्रमा रंगशाला निर्माणका लागि १० विगाह जग्गा छुट्याइएको छ। खालि १ सय ७० विगाह जग्गा मध्ये १० विगाह जग्गा जग्गा रंगशाला निर्माणका लागि छुट्याइएको हो ।