राष्ट्रिय जनता पार्टी नेपालले संसदीय दलको विधान तयार गर्न सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई जिम्मा दिएको छ।
राजपामा संसदीय दलको नेतामा अध्यक्षमण्डलकै नेताहरूले आकांक्षा देखाउँदै आएका छन्। आकांक्षी धेरै देखिएपछि राजपाले संसदीय दलको नेता चयन गर्न सकेको छैन। अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो र महिन्द्रराय यादवले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन्।
राजपाले सांसदहरूले दश हजारका दरले मासिक लेबी उठाउने निर्णय पनि गरेको छ। संघीय संसदमा राजपाका १९ सांसद रहेका छन्।
राजपाको संसदीय दलको बैठकले जेलमा रहेका सांसद रेशम चौधरीको सपथका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको राजपा अध्यक्षमण्डलका नेता राजकिशोर यादवले जानकारी दिए।